बिग्रेको ढोका
कलपनिक संसार सायद यस्तै हुन्छ,
हाँसोका रङले रङ्गिएका मुहारहरू।
सायद त्यो संसार कल्पनामै सीमित रह्यो,
हराएको हाँसोमा रङ त थियो—तर कालो।
वास्तविकता फरक थिएन,
अलिकति तितो मात्रै थियो।
फ्याँकिएको कागजमा
जिन्दगीका हरेक शब्द थिए—
शब्दमाथि शब्द,
शब्दकै रचनामा रचिएको जीवन।
तितो वास्तविकता—
अर्थ कसले बुझ्यो?
भावना लुकाएको थिइनँ,
डर मात्रै थियो।
बुझ्ने मस्तिष्कले
बुझाउन थाल्ला कि भनेर।
बुझेको छु म—
निशब्द छु,
डरले होइन,
बुझेरै।
कल्पनिक, वास्तविक
र भावनाले भरिएको यो सपना
सकिने कहिले हो?
ब्यूँझिनु अघि
त्यो घामलाई सोध्न मन छ—
तिम्रो भोलि, तिम्रो हिजो
र मेरो आजमा
फरक के छ?
अनन्त समयको
अन्त्य हुने कहिले?